Tuesday, June 6
Shadow

युट्युबरको कठघरामा एक महिलाको ‘चीरहरण’

बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ । सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् । केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

यो पनि पढ्नुहोस बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भन्दै झुटो प्रचार भाग्यले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए । त्यसको दुई दिनपछि उनी फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे । माथि उल्लेख गरिएको भिडियो यही पैसा फिर्ता माग्ने क्रममा बनाइएको हो ।

भिडियोमा देखिएअनुसार भाग्यसहितका केही युट्युबरहरु बालगृहमा जबरजस्ती घुस्छन् । पुष्पा कोठाभित्र सोफामा बसेकी छन् । वरिपरि भाग्य र अन्य युट्युबरले उनलाई घेर्छन् । अनि सुरु हुन्छ प्रहरी शैलीमा केरकार । यो भिडियो हेर्दा महाभारत कथाको एउटा घटना याद आउँछ । भारदारीसभामा दुसासनले द्रौपदीको चिरहरण गरेको घटना । अन्तरवार्ताका नाममा युट्युबरले पुष्पाको हुर्मत लिएको दृश्य द्रौपदीको चिरहरणजस्तो लाग्छ । बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको छ । उनलाई ठाउँको ठाउँ आर्थिक सहायताको हिसाब देखाउन लगाइन्छ, मानौं युट्युबरहरु अख्तियारबाटै आएका हुन् ।

पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटक–पटक क्षमायाचना गर्छिन् । भाग्यको १० हजार फिर्ता गर्छिन् । प्राप्त सहयोगको विवरण देखाउँछिन् । अरुको पनि पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाउँछिन् । यी सबैका बाबजुद युट्युबरहरु पुष्पालाई अनवरत हमला गरिरहन्छन् ।

यो केरकारमा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त असहज लाग्छ । उनी एक सञ्चारकर्मीका रुपमा त्यहाँ गएका हुन् । तर, अन्तरवार्ता लिने क्रममा उनको बसाइ र बोलाइले त्यस्तो प्रतीत हुँदैन । उनी महिलासँग ढसमस्स टाँसिएर बसेका छन् । पुष्पालाई असहज लागेको स्पष्ट देखिन्छ । तर, उनी कुनै प्रतिकार गर्न सक्ने अवस्थामा छैनन्, किनकि उनलाई त्यहाँ एउटा जघन्य अपराधीका रुपमा व्यवहार गरिएको छ ।

भाग्यको नियतमै प्रश्न उठाउन खोजिएको होइन । उनले ती महिलाप्रति कुदृष्टि राखेर त्यसरी टाँसिएका पक्कै होइनन् । तर, कुनै पनि अवस्थामा महिला पात्रसँग त्यसरी प्रस्तुत हुन पत्रकारिताको ‘इथिक्स’ ले दिँदैन । उनी त्यसरी टाँसिनुपर्ने कुनै वाध्यात्मक अवस्था पनि देखिएको छैन ।

भाग्यको अन्तरवार्ता लिने शैली पनि अस्वाभाविक लाग्छ । प्रायः नरम शैलीमा प्रश्न सोध्ने युट्युबर हुन् उनी । तर, यो घटनामा उनले आफ्नै छविलाई धुमिल्याउने गरी अर्नभ गोश्वामी शैलीमा प्रस्तुत भएका छन् । उनी पुष्पालाई लगातार प्रश्न मात्र सोध्छन्, उत्तर दिने अवसर दिँदैनन् ।

पुष्पाको गल्ती र नियतको प्रश्न आफैंले नियोजित रुपमामा बच्चालाई त्यसरी झाडीमा राखेको र उद्धारको नाटक गरेको महिलाले स्वीकारेकी छन् र प्रायश्चित पनि गरेकी छन् । तर, आफ्नो काम गलत भए पनि नियत नराम्रो नभएको उनको दाबी छ । ती बच्चा विदेशबाट हालै नेपाल फर्केकी महिलाले जन्माएकी हुन् ।

आफैंसँग राख्दा परिवार र समाजबाट विभिन्न प्रश्नको सामना गर्नुपर्ने भएकाले उनले आफ्नो बच्चा पुष्पाको केयर होममा सुम्पिएकी थिइन् । भविश्यमा बच्चाका बारेमा प्रश्न उठ्न सक्ने, उनका आमा-बाबुको खोजी हुन सक्ने भएकाले बच्चालाई अलपत्र अवस्थामा उद्धार गरेको नाटक रचेको पुष्पाको भनाइ छ । प्रहरीसँगको वयान र युट्युबरको केरकारमा पनि उनले यही भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *