Saturday, March 25
Shadow

विकासको लागि सम्झौता गर्न दोहा जादै, प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने तयारीमा रहेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको रातोपाटीलाई पुष्टि गरे । उनले भने, ‘दोहामा हुने विकाससम्बन्धी एक सम्मेलनमा उहाँ जाने कुरा छ ।

सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहने भएकाले प्रधानमन्त्रीज्यू पनि जाने तयारी छ ।’उनी फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ । यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय हुन सकेको थिएन । राष्ट्रपति निर्वाचनलगायतका कारणले तत्काल प्रचण्डको भारत भ्रमण हुन नसकेको हो ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका बीच पनि कतार भ्रमण भने जानैपर्ने बाध्यताका कारण प्रचण्ड त्यसतर्फ प्रस्थान गर्ने तयारीमा लागेका हुन् । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ भने त्यसका लागि यही १४ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले अध्यक्ष केपी ओलीलाई सकस परेको हो । बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बीसौंपटक भेट गर्नुभयो ।
उहाँले सरकार गठन (पुस १०)यता सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्डलाई २० पटक भेट गरिसक्नुभएको एमाले ओली निकट स्रोतले पुष्टि गरेको छ ।

राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘पछिल्लोपटक दुई नेताहरूबीच लामो संवाद भएको छ । करिब दुई घण्टा भएको भेटमा फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । यद्यपि, उहाँहरूबीच राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित भए पनि ठोस निर्णयमा भने पुग्न नसकेको बताइएको छ ।

सरकार गठन भएको सात हप्तामा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई बिसपटक भेटिसक्नुभएको छ । बिहीबारको भेटमा ओलीले सत्ता गठबन्धन दलका नेताहरूबीच बसेर गरिएको पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र प्रधानमन्त्री ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले एमाले, माओवादी वा अरू कुनै दलभन्दा पनि कुन दलमा सहमति बन्छ त्यसका लागि छलफल गरेर अघि बढ्दा राम्रो हुने बताउनुभएको थियो ।
सत्ता गठबन्धन भत्काउन विभिन्न खेलहरू भइरहेको कुरा आफूलाई जानकारी भएको भन्दै प्रचण्डले त्यसलाई रोक्न एमालेले साथ दिनुपर्ने बताउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘षड्यन्त्रहरू भइरहेका छन् । त्यसमा म आफू सचेत छु । तर, यसमा एमालेले पनि मलाई पूर्ण सहयोग गर्नुपर्छ ।’ उक्त छलफलमा दुवै नेताहरू आआफ्नो अडानबाट पछि नहटेको गजुरेलले जानकारी दिनुभयो ।‘प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरौँ भन्नुहुन्छ भने एमाले अध्यक्ष केपी ओलीजी राष्ट्रपति एमालेले पाउनुपर्ने भनिरहनुभएको छ’, गजुरेलले थप्नुभयो– ‘दुवै जना आ–आफ्ना अडानमा भए पनि अन्ततः दुवै जना सहमतिमा पुग्नुहुन्छ ।’
एमालेसँग सहमति भए पनि नभए पनि माओवादी केन्द्रले राष्ट्रपतिबारेमा आधिकारिक निर्णय गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *