Sunday, September 24
Shadow

प्रधानमन्त्री प्रचण्डले लिए एक्सन, आन्दोलनको नाममा ल्होत्से मलमा लुटपाट गर्नेलाई घिसारेर हाले जेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्।

लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्,’ प्रधानमन्त्री प्रचण्डले भने।छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए।

घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा अधिकारीहरूले ब्रिफिङ गरेका थिए।

छलफलका क्रममा उनीहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए।

प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित थिए।

यसैगरी गत सोमबार बालाजुमा भएको मजदुर आन्दोलनले उग्र रूप लियो।

दिउँसोदेखि सुरू भएको आन्दोलनले अपरान्हसम्म उग्र रूप लिइसकेको थियो। एकातिर प्रहरी वृत्त बालाजु र अर्कोतर्फ प्रहरी वृत्त महाराजगन्जको टोलीले आन्दोलनलाई रोक्ने प्रयास त गर्‍यो तर बल प्रयोग गरेको थिएन।

प्रहरीले बल प्रयोग नगर्दा ठूलो क्षति भएको भन्दै आलोचना भएको छ।

यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने घटनामा अझ ठूलो क्षति हुनबाट जोगाउन पनि संयमता अपनाउन जरूरी भएको बताउँछन्। त्यही दिन काठमाडौंमा विशिष्ट व्यक्तिको आगमनका कारण पनि प्रहरी थप संयम बनेको उनले बताए। त्यसदिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका थिए।

उनी काठमाडौं आएर विभिन्न शीर्ष नेतासँग भेट गरिरहेका थिए। जसको लागि काठमाडौं प्रहरीले नै सुरक्षाको व्यवस्था गर्नुपर्थ्यो। ‘त्यतिबेला विशिष्ट व्यक्तिहरूको पनि आगमन थियो। विभिन्न ठाउँमा भिजिट थियो, त्यसको लागि सहजीकरण गर्नुपर्ने थियो,’ उनले भने।

यता यातायात मजदुरहरूले भने बालाजु सडकमै बस तेर्साएर अवरूद्ध गरेका थिए। जसकारण काठमाडौंकै सवारी आवतजावत अस्तव्यस्त बनेको थियो। त्यस्तो बेलामा प्रहरीले संयमता नअपनाएको भए ठूलो क्षति हुनसक्ने उनले बताए।

‘सडक पनि अवरूद्ध भएको थियो। त्यहाँ गरिने कुनै पनि संयमविहीनताका कामले, संयमता अलिकति पनि तलमाथि हुँदा विशिष्ट व्यक्तिहरूको सवारी अवरूद्ध हुनसक्थ्यो,’ उनले भने,‘मुलुकको शाखसँग जोडिने हुँदा त्यसलाई मध्यनजरमा राख्दै संवेदनशीलता अपनाएका हौं। क्षतिको पनि आकलन गरेका थियौं।’

त्यही आन्दोलनमा प्रदर्शनकारीले दुई वटा प्रहरी गाडी जलाएका थिए। प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको गाडीमा तोडफोड गरी आगजनी गरेका थिए। त्योसँगै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरिएको थियो। यता ट्राफिक आयरल्यान्ड पनि भत्काइएको थियो।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा कयौं प्रहरी घाइते समेत भएका थिए। यस घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ।

यता प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहँदा बालाजुमै रहेको ल्होत्से मलमा पनि तोडफोड भएको थियो। बन्द गरिसकेका मोबाइल पसलभित्र पसेर मोबाइल फोन समेत लुटपाट भएको थियो।

मोबाइल लुटपाट गर्ने ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यस्तै यी घटनामा संलग्न अन्यलाई पनि प्रहरीले पक्राउ गरेको छ। यद्यपि म्याद थप गर्न बाँकी रहेको भन्दै उनीहरूलाई सार्वजनिक भने गरेको छैन।

उक्त दिन आन्दोलनले उग्र रूप लिएपछि परिसरबाट एसपी सीताराम कोइराला नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले पछि बल प्रयोग गरी घटनालाई नियन्त्रणमा लिएको थियो। यता सशस्त्र प्रहरी बलबाट पनि टोली खटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *