काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ ।आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका छन् ।
रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय, बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए ।उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफू आक्रोशित भएको स्वीकार गरेका उनले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएका थिए ।
सोमबारको बैठकमा नेताहरुले रविको आलोचना गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापतिले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो, आत्मालोचना गर्नुस्’ भनेका थिए । अर्का सांसद गणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढाउने काम मात्र भएको बताए ।
उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु पार्टीको पनि कमजोरी भएको बताएका छन् ।आइतबार रविले आफूले गृहमन्त्री बन्न खोजेको, तर नभई हुन्न भनेर नभनेको जिकिर गरेका थिए । उनले भनेका थिए, ‘यही कुरा २/३ दिन अगाडि भनेको भए गृह नपाएर सरकारबाट बाहिरियो भन्ने सन्देश जाँदैनथ्यो । यसमा चुक भयो ।’एक सहभागीका अनुसार महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने सभापति रविको बचाउ गरेका थिए । गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने र पाएको भए कसलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको तर्क थियो ।
बैठकमा सभापति रवि रिस धेरै उठेकाले बोलेको बताएका थिए । यसले भएको क्षति न्यूनिकरण गर्न के गर्ने त भनेर समेत उनले प्रश्न गरेको एक नेताले सुनाए । उनले भने, ‘१/२ दिन हेरौं, त्यसपछि तपाईँले हिजोको जस्तै पत्रकार सम्मेलन गरेर हुन्छ कि विज्ञप्तिमार्फत हुन्छ आफ्नो वक्तव्य दिनुस भनेका छौं ।’
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताएका छन् ।रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’
राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताए ।उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन ।
यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको भनाइ छ ।
तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उनले जनाए । ‘आयोगमा परेका निवेदनलाई तदनुसार समयमै निरुपण गर्छौं,’ उनले भने ।विगतमा ४१ वटा दल खारेज गरेको उदाहरण दिंदै उनले भने, ‘त्यसका निश्चित क्राइटेरिया थिए । त्यो क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने कुरा निवेदन गर्न चाहन्छु ।’