सर्वोच्च अदालतले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारीगरेपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ ।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले कार्यकर्ता आक्रोशित भएका हुन।युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गर्नुभएको थियो ।
लगत्तै युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।महेस बस्नेतले फेसबुकमा यस्तो लेखेका थिए: तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाआै।
आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शासन ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्न असम्भव छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।