काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ ।
स्वतः पदमुक्त भए पनि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । ‘अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।’ लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ । त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी छ । प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना हुँदाहुँदै गठबन्धन दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए । ‘शक्तिशाली’ मन्त्रालय नराखेकामा माओवादीभित्र दाहालको आलोचना भएको थियो ।
माओवादी सचिव लीलामणि पोखरलेले अब गृह मन्त्रालय माओवादीले राख्नुपर्ने बताए । ‘प्रधानमन्त्री जुन पार्टीको हुन्छ, त्यही पार्टीले गृह र अर्थ मन्त्रालय राख्नुपर्ने हो । अरू नभए पनि अब गृह मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ ।’
पुरानो नागरिकता प्रयोग गरी पार्टी दर्ता, निर्वाचनमा उम्मेदवारीलगायत काम गरेकाले लामिछाने फेरि मन्त्री हुँदा गम्भीर नैतिक र राजनीतिक प्रश्न उठ्ने उनको भनाइ छ । ‘सर्वोच्चले नै प्रतिनिधिसभा सदस्य उम्मेदवार, उम्मेदवारी कायम र निर्वाचितलगायतका कारबाही बदर गरेपछि फेरि उही पदमा आउनु नैतिक मात्र होइन, कानुनी प्रश्न पनि बन्ने भयो,’ उनले भने ।