Saturday, March 25
Shadow

एमालेको ध्यान अब राष्ट्रपतिमा

कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेका कारण एमाले पुस १० को सहमति कार्यान्वयनमा ढुक्क हुन सकेको छैन
माघ ६, २०७९बबिता शर्मा

काठमाडौँ — सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले सांसद देवराज घिमिरे सभामुख भइसकेका छन् । दुई शीर्ष नेताले पुस १० मै राष्ट्रपति एमालेबाट चयन गर्ने सहमति गरेका भए पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेको छ । कांग्रेसको भूमिकाका कारण एमाले पनि ढुक्क देखिँदैन ।

प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली  । तस्बिर : अंगद ढकाल/कान्तिपुर एमालेले सहमतिअनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अभिव्यक्ति दोहोर्‍याइरहेको छ । राष्ट्रपतिमा सबै दलबीच समझदारी बनाउने प्रयास हुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताए । ‘सभामुखकै जसरी उपसभामुखको पनि निर्वाचन हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले एउटा समझदारी बनिदिए हुन्थ्यो भनेर प्रयास गरिरहेका छौं ।’

ओली भने एमाले उम्मेदवारको हकमा मात्रै राष्ट्रिय सहमति हुने बताउँछन् । ‘एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकपछि उनले भने । माओवादीका एकथरी नेता भने सरकार गठनदेखि विश्वासको मतसम्ममा राजनीतिक परिस्थितिमा बदलिएको बताउने गरेका छन् ।

विश्वासको मत दिएका कारण कांग्रेसलाई दाहालले टाढा धकेल्न चाहेका छैनन् । त्यसैले उनले सहमतिको प्रयास गर्ने बताउँदै आएका छन् । दाहालले विश्वासको मत दिएका दलहरूको बैठक राखेर संवैधानिक पदमा सहमति गरेर जानुपर्ने प्रस्ताव राखिसकेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीको ‘प्रभाव’ सन्तुलन गर्न पनि प्रधानमन्त्री दाहालले कांग्रेससँग निकटता कायम राखिराख्न खोजिरहेका छन् । कांग्रेसले पनि आफ्नै पार्टीबाट राष्ट्रपति चयन गर्न भरमग्दुर प्रयास गर्ने देखिएको छ ।

एमालेको बलमा सरकार निर्माण भएकाले राष्ट्रपतिमा अर्को बाटो लिन नहुने आवाज पनि माओवादीभित्र छ । दाहालनिकट एक नेताका अनुसार राष्ट्रपतिमा सहमतिको प्रयास हुने बताए पनि ओलीलाई उनले बचन दिइरहेका छन् । सहमतिको प्रयास भइरहेको भन्दै दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई सन्तुलनमा राख्ने प्रयास गरेको ती नेताको भनाइ छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर दाहाल र ओलीबीच रहेको आशंका मेटाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव शक्तिबहादुर बस्नेत सक्रिय रहेको स्रोतको भनाइ छ । सभामुख आफ्नो दलको निर्वाचित भएपछि भने ओली थप विश्वस्त भएको एक नेताले बताए ।

विश्वासको मत दिए संवैधानिक पदमा राष्ट्रिय सहमति जुटाउन पहल गर्ने आश्वासन प्रधानमन्त्री दाहालले दिएकाले राष्ट्रपति पद आफूले पाउने कांग्रेसको विश्वास छ । प्रधानमन्त्री दहालले पुस २६ मा देउवाकै निवासमा पुगेर विश्वासको मत मागेका थिए भने बुधबार पनि देउवासँग टेलिफोन संवाद गरेका थिए । कांग्रेस र दाहालनिकट माओवादीका दोस्रो तहका नेताहरूबीच संवाद पनि जारी छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनमा परिणाम हात पार्ने गरी तयारीमा लाग्ने बताए । ‘राष्ट्रपतिका रूपमा हामी प्रतिस्पर्धा गर्दैगर्दा परिणाम हासिल गर्ने ढंगले लाग्छौं,’ उनले भने ।

निकट एक नेताले प्रधानमन्त्री दाहाल राष्ट्रपति पद कांग्रेसलाई दिने राजनीतिक वातावरण बनाउने गृहकार्यमा रहेको बताए । उनका अनुसार कांग्रेसलाई पनि शक्ति बाँडफाँटमा जोड्न सके संक्रमणकालीन न्याय टुंगाउन सहज हुने दाहालको बुझाइ छ । सबै संवैधानिक पदमा वामपन्थी शक्ति मात्रै हुँदा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावित हुन सक्ने डर पनि दाहाललाई छ ।

राष्ट्रपति र सभामुख लिइसकेको अवस्थामा साढे दुई वर्षपछि सरकारको नेतृत्व पनि एमालेलाई दिँदा संविधानमाथि चुनौती आउन सक्ने डरले दाहालले शक्ति सन्तुलन मिलाउन खोजेको एक नेताले बताए । विगतमा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनमा भूमिका खेलेर संविधानलाई चुनौती दिएको दाहालको बुझाइ छ । कांग्रेसले संविधान रक्षाका लागि भन्दै दाहाललाई विश्वासको मत दिएको थियो । माओवादी र एमालेबीच प्रधानमन्त्री र सभामुख पद आधा–आधा कार्यकाल बाँड्ने सहमति छ । उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ । उपराष्ट्रपतिमा निर्णय भएको छैन ।

निर्णायक चरणमा दाहालले राष्ट्रपति पद अर्कैको पोल्टामा पारिदिने हुन् कि भन्ने डर एमालेमा हटिसकेको छैन । माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत भने अहिले नै गठबन्धनलाई शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । ‘हाम्रो सहकार्य आपसी विश्वासमा अघि बढ्छ । सभामुख निर्वाचनसम्म आइपुग्दा आपसी विश्वासमा कमी आएको छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *