काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९– एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनाको शव सेतीको खोंचबाट संकलन गरिएको छ ।विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । सेतीको खोंचबाट संकलन गरिएकामध्ये ३ वटा शवको आंशिक भाग मात्रै भेटिएको छ ।
घटनास्थलबाट संकलन गरिएको ३ वटा शव मध्ये एउटा हात, खुट्टा र करङको भाग फेला परेको थियो । ७० औं शव प्रहरीले आफन्तको सहयोगमा पहिचान गरेको थियो । तर, मेडिकल टिमले ७० औं नम्बरमा पहिचान गरिएको हात, खुट्टा र करङको भागको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् ।
‘टुक्रिएको अवस्थाका शव डीएनए परीक्षण पछि मात्रै सनाखत गर्न सकिने चिकित्सकहरुको भनाई छ’ खोज तथा उद्धारमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्– ‘शवको अरु टुक्राको खोजीकार्य जारी नै राखेका छौं ।’ अँध्यारो भएका कारण सोमबारको खोज कार्य स्थगित गरिएको छ ।
मंगलबार बिहानैदेखि ड्रोनको समेत सहयोग लिएर खोज तथा उद्दार गरिने कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । उनले भने– ‘आज ड्रोनको प्रयोग गरेर ३ वटा टुक्रा भेट्टायौँ, भोलि पनि पानी बगेको ठाउँमा ड्रोनको प्रयोग गरेर खोजी गर्छौं ।’
सुरक्षा अधिकारीहरुले टुक्रिएको शव मिलाउँदा ७२ जनाकै डेडबडी भेटिएको दावी गरेका छन् । शवको टुक्रालाई काठमाडौं ल्याएर डीएनए गरेपछि सनाखत गर्ने अधिकारीहरु बताउँछन् ।
४ प्रकारका शव काठमाडौं ल्याइँदै
सुरक्षा अधिकारी र चिकित्सकहरुले चार प्रकारका शव काठमाडौं पठाउने निर्णय गरेका छन् । विदेशी नागरिक, चालक दल, सनाखत हुन नसकेका र परिवारले लान खोजेको शव काठमाडौं पठाउने निर्णय गरिएको कास्कीका एसपी अजय केसीले बताए ।
‘४७ देखि ५० वटा शव काठमाडौं पठाउँछौं’ एसपी केसी भन्छन्– ‘काठमाडौं लैजाने शवको पोष्टमार्टम त्यतै गर्ने निर्णय भएको छ ।’ प्रहरीले आफन्तको सहयोगमा ४२ जनाको शव सनाखत गरेका छन् । तर, अहिलेसम्म मेडिकल क्राइटेरिया अनुसार २२ मात्र पोष्टमार्टम गर्न योग्य देखिएका छन् ।
मंगलबार बिहानबाट खोज तथा उद्धारमा नेपाली सेनाको गोताखोर पनि परिचालन गरिने भएको छ । सेनाको गोताखोर टिम पोखरा पुगिसकेका छन् । जहाँको ब्ल्याक बक्स सहि अवस्थामा फेला पारेर नेपाली सेनाले नागरिक उडड्यन प्राधिकरणलाई जिम्मा लगाएको छ । मंगलबार घटनास्थलमा दुर्घटनाबारे अनुसन्धान गर्न नागरिक उडड्यन प्राधिकरणको टिम पनि पोखरा जाँदै छन् ।