रवि लामिछानेको निर्देशनमा विशिष्ट व्यक्तिको कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको जानकारी गराउनुभएको हो । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।
राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारवि’रुद्ध चर्को आवाज उठाएका थिए । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ । ‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’