Thursday, March 23
Shadow

मेयर बालेनलाइ घेराउ गर्दै काठमाडौंका फुटपाथ व्यवसायी

अबको केही समयपछि काठमाडौं महानगरपालिका फुटपाथ मुक्त शहर बन्ने भएको छ । महानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान सुरु गरेसँगै अब काठमाडौं फुटपाथ व्यापार मुक्त शहर बन्ने भएको हो ।

यसै क्रममा महानगरपालिकाले अनधिकृत संरचना हटाउने नाममा गरिखाने वर्गलाई बेरोजगार बनाउने काम भएको भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने भएको छ।

अहिले बिहान ११ बजे देखि सुन्धारास्थित काठमाडौं महानगरपालिकाको प्रवेशद्वारमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।धर्नाअघि सुनधाराबाट सुरु गरिने र्याली वीर अस्पताल, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदा महानगरपालिकाको कार्यालय अगाडि आइपुग्ने छ।

फुटपाथमा व्यवसाय गर्नेहरूलाई विस्थापित गर्ने क्रम नरोकिए अन्य सरोकारवाला संघ/संस्थासँग पनि सहकार्य गरेर थप संघर्ष गरिने संघले जनाएको छ।

फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालित छ । काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँ बसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड लगायतका क्षेत्रमा फुटपाथ व्यापार अत्यधिक हुँदैआएको ठाउँमा क्यामेरासहितका ४२ जना महानगर प्रहरी परिचालित रहेको महानगरले जनाएको छ ।

फुटपाथमा व्यापार गर्नेहरुले बत्ती, पानी र सटरको भाडा पनि तिर्नुपरेको छैन । राज्यलाई कर समेत तिर्नु नपरेकाले करको दायरामा ल्याउनुपर्ने अनिवार्य छ । फुटपाथमा कुनै पनि सामानको बजारभाउ एकिन हुँदैन । सकेसम्म सर्वसाधारणसँग बढी पैसा असुलेको देखिन्छ । यो हटेमा पैदलयात्रुलाई आवतजावतमा निकै सहज हुने महानगरपालिकाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *