काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा सोमबार भएको बीभत्स घटना हत्यापछिको आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेश पाण्डेले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् । घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा दिनेशले पत्नी सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको आरोप लगाएका छन् । ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि उनी स्वदेश फर्केका थिए ।
खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको, तर श्रीमती र ससुराली पक्षले सम्पत्ति हडप्न विभिन्न आरोप लगाउने गरेको उनले सुसाइड नोटमा लेखेका छन् । सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् । प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन्, ‘तिमीले पनि मलाई कहिल्यै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो । तिमीले कहिल्यै मलाई बुझेनौं ।’
उनले आफूले ‘जे भयो–भयो’ भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन् । उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । उनका अनुसार दिनेशले श्रीमती सुनितासँग सम्बन्धका विषयमा स–साना विषय पनि उल्लेख गरेका छन् । विगतमा साउदीमा कार्यरत रहँदा बिदामा नेपाल आएका बेला पनि श्रीमती सुनिता कहिल्यै खुशी नभएको भन्दै उनले गुनासो गरेका छन् ।
‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, १५ दिनजति त फकाउँदा फकाउँदै जान्थ्यो’ नोटमा भनिएको छ, ‘तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौं ।’ उनले नोटको दुई पानामा दाइको नाममा लेखेका छन् । त्यसमा उनले विभिन्न व्यक्तिसँग तिर्नुपर्ने ऋणको विवरण पनि उल्लेख गरेको स्रोत बताउँछ । एक सहकारीको नाम उल्लेख गर्दै उनले त्यहाँ भएका पैसा निकालिदिएर केही व्यक्तिलाई ऋण चुक्ता गरिदिन पनि भनेका छन् ।
उनले दाइलाई ‘घरको स्थिति थाहा छँदैछ, त्यसैले बिदा लिँदैछु’ समेत भनेका छन् । घटना स्थलमा उपस्थितले भने दिनेशको भाउजुसँग नाजायज सम्बन्ध रहेकाले खटपट सुरु भएको भन्दै मिडियालाई बयान दिएका थिए । त्यतातर्फ के थियो ? प्रहरीले अनुशन्धान नै गरिरहेको छ । एक अनुसन्धान अधिकृतका अनुसार सुसाइड नोटका सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिन्छ । सोमबार काभ्रेस्थलीमा दिनेशसहित उनकी श्रीमती सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीया छोरा आशिक मृत अवस्थामा भेटिएका थिए । सुरुमा घटनास्थलमा प्रहरी वृत्त बालाजुको टोली पुगेको थियो ।
यो प्रकृती हेर्दा यदि नाजायज सम्बन्ध नै हत्याको कारण थियो भने, फूलको कोपिला जस्ता यी साना बालबालिका किन मारे ? आखिर श्रीमतीको हत्या गरिसकेका थिए । उनले आत्महत्याको सोच बनाएका थिए बने छोराछोरी किन मारे ? यो अनुशन्धानमा जटिल बनेको विषय छ । टोलीका एक सदस्यका अनुसार दिनेशको शव नजिकै रहेको एक टेबलमा एक भाँडोले थिचिएको अवस्थामा पत्रहरु फेला परेका थिए । प्रहरी अधिकृतका अनुसार ‘जाँचमा दिइने पेपर जस्तोमा उनले सबै कुरा लेखेर छाडेका रहेछन् ।’
अनुसन्धान अधिकृतहरुका अनुसार उनले लेखेजति विषयहरु लेखिसक्न कम्तिमा पनि तीन घन्टा लाग्नसक्छ । र, ती विषयहरु सबै उनले हत्या गर्नुअगावै लेखेको देखिने अधिकृतहरु बताउँछन् । अन्तिमतिर पुगेपछि मात्रै उनले ‘जति सम्झाए पनि पार नलागेको’ भन्दै श्रीमतीप्रति आक्रोश पोखेका छन् । सुरुआतमा उनले श्रीमतीलाई माया गरिरहने बताउनुले उनी डिप्रेसनमा भएको पनि हुनसक्ने आशंका उब्जाएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘अन्तिमतिर मात्रै उनले श्रीमतीप्रति आक्रोश देखाएका छन्, त्यसपछि मात्रै छोराछोरीको पनि औधी माया लाग्ने र सँगै लिएर जाने भनेका छन्’ ।
यो घटनामा लामो लेखौट बरामद हुनुले दिनेशले लामो समय अगाडिदेखि नै नोट लेखेको हुनसक्ने देखिएको मनोविद् गोपाल ढकालको विश्लेषण छ । ‘घटना विवरणहरु हेर्दा उनी डिप्रेसनमा भएको जस्तो देखिन्छ, उनले आत्महत्याका लागि पहिल्यैबाट तयारी गरेको पनि हुनसक्छ’ ढकाल भन्नुहुन्छ, ‘यसरी आत्महत्या भएका अधिकांश घटनामा नोटमा आफूसँग विकल्प भएन, कसैले बुझेनन् भनेरै लेख्ने गरिएको पाइन्छ ।’