नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु भारत निकै उत्साहका साथ जान लागेको बताएका छन् ।
भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भ्रमण आकस्मिक नभएको भन्दै आफ्नो भ्रमण सद्भावना भ्रमण मात्र भएको बताएका हुन् ।
साथै उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै सम्बन्ध नभएको बताएका छन् ।
तीन दिने भ्रमण भारत जान लागेका प्रचण्डको प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
भेटमा व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डाको विषयमा छलफल गर्ने जानकारी दिएका छन् ।
कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श समेत गरिने बताए ।
‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’प्रचण्डले भने ।