Saturday, March 25
Shadow

ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?

चर्चित सञ्चारकर्मी रवि लामिछानेले तामझामसहित मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् । सक्रिय सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रविले राष्ट्रिय सभागृहमा आफ्ना समर्थक, शुभचिन्तकमाझ वाचा–कसम खाँदै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे ।

सञ्चारकर्मलाई बिट मारेका उनले अब विधिवत रूपमा राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । घोषणासभामा उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा आजैदेखि सक्रिय रहने बताएका छन् । निर्वाचन आयोगले उनको दललाई मान्यता दिएपछि सम्पूर्ण शक्ति निर्वाचनकेन्द्रित रहने छ । सुरूवाती चरणमा २१ जना सदस्य रहने गरी समिति गठन हुनेछ । त्यही समितिले नै बाँकी कार्यभार निर्वाह गर्नेछ ।

रविले नयाँ पार्टी घोषणा गरेपछि आगामी निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिन्छन् वा पुरानै पार्टीमा प्रवेश गर्छन् भन्ने चासोको पटाक्षेप भएको छ । मूलभुत रूपमा पुराना राजनीतिक दलका नेताहरूले बाटो बिराएकोले आफू राजनीतिमा होमिएको उनले दाबी गरेका छन् ।

‘म राजनीतिमा व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको हो । राजनीतिक दलका नेतालाई सच्चिन मैलै पटक—पटक आग्रह गर्दासमेत कुनै सुधार नआएकोले म राजनीतिमा होमिएको हो । वर्षै जमेको धुलो टकटकाएर आम जनताको अवस्था बदल्न म प्रतिवद्ध छु ।’

स्वतन्त्र वा कुनै दलमा प्रवेश गर्ने बाटो बन्द गरेका रविले आगामी निर्वाचनमा कुन क्षेत्रबाट उठ्ने भन्नेबारे कुनै जानकारी दिएनन् । संघीय निर्वाचनमा उम्मेदवारी दिनेबारे जनताको प्रतिक्रिया लिएपछि मात्र अगाडि बढ्ने उनले बताए । तर उनले आफूलाई चितवन, झापा, डडेलधुरामध्ये एक ठाउँबाट चुनाव लड्न मन भएको बताए । सभामा आफू पुराना पार्टीबाट एक जनालाई संसद पस्न रोक्ने जिकिर गर्दै त्यसैगरी अन्यलाई पस्नबाट रोक्न तयारी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *