पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको छ । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी मात्रामा बढाएको हो । डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।
पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ : विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो ।