Thursday, March 23
Shadow

धरानका मेयर हर्क साम्पाङले खानेपानीको लागि यसरी आफै ढुंगा बोके

धरान उपमहानगर प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले प्रायस् श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए ।

खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो । यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन ।

उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो । सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।

पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी गीत लेख्छन् र गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।

उनमा देशलाई केही गरौ भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।

उनको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। जनजीविकाको ससानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *