नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई कमजोर पारेर उल्ट्याउने प्रयास अहिले पनि भइरहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
आफ्नो पार्टीले लडेर ल्याएर लोकतन्त्रको रक्षा र यसका उपलब्धिलाई संस्थागत गर्नका निम्ति सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्नेमा जोड दिएका प्रचण्डले संघीय गणतान्त्रिक नेपाललाई नरुचाउने वर्ग तत्वहरू यसलाई उल्ट्याउन लागि परेको आरोप लगाएका छन् ।
‘हिजो नेकपा माओवादीको अगुवाइमा कर्मचारी, राजनीतिक दल, नागरिक समाज, आमजनता सबै मिलेर लडेर ल्याएको संघीयतालाई नरुचाउने वर्ण तत्वहरू अहिले पनि यसलाई उल्ट्याउन सकिन्छ भनेर बल गरिनै रहेका छन्,’ उनले भने ।
सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण समेत बनेको बताएका उनले देशको रुपान्तरणमा कर्मचारीको पनि उल्लेख्य भूमिका रहेको बताएका छन् ।