तीनदिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लैरो हस्तान्तरण गरेका हुन् ।
अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।
त्यस्तै, द्व न्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेबनान प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे ।
यही असार १० गतेसम्म भ्रमणका क्रममा टोलीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ लेबनान र सिरियाको निरीक्षण भ्रमण गर्नुका साथै उक्त मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत बारेमा जानकारी लिने कार्यक्रम छ ।
भ्रमणका क्रममा, प्रधानसेनापति शर्माले लेबनान र सिरियाका युएन मिसनका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । लेबनान प्रस्थान गर्नु पूर्व प्रधानसेनापति शर्मालाई शुक्रबार जङ्गी अड्डामा सम्मानगारत अर्पण गरिएको थियो ।
उक्त निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा यही असार (१३–१७) सम्म अमेरिका भ्रमण गर्ने कार्यक्रम छ। अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हुनेछन् । उनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने बताइएको छ । प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।