Thursday, March 30
Shadow

काठमाडौंमा बालेन शाहले लगाए कडा नियम

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।काम छलेको, समय मै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारीमाथि छड्के जाँच गर्न समेत सुरु गरिसकेका छन् । वडा कार्यालयदेखि विभागसम्म गरेको छड्केमा हालसम्म ४ जना कर्मचारी परिसकेको महानगरका एक कर्मचारीले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडांै महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।

मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ, ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’

काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा राख्न सुरु गरेको छ । यस्तै मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।

काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए।

‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै: हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’

उनले थपे,‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’ बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *