केटा– मै हुँ राजा मौरीको हुलको, कस्तो होला सुगन्ध फूलको
केटी– नजिक नजिक नखोज हुनलाई, परै बस पाईंदैन छुनलाई
केटा– लाली ओठमा कसले म्वाई खाला, छुँदा पनि दाग लाग्ने छन् गाला
केटी– भो भो धेरै गफ लाउनु पर्दैन, गफैले जून धर्तीमा झर्दैन
केटा– तिम्रो रुपले बिगार्यो नियत, नजिक आउँथें म्वाइ खान दिए त
केटी– हेर हेर मोइ माग्न थालेको घरमा भैंसी छैन र पालेको
केटा थेगो– देउरालीलाई भेटी, मलाई जोबन दिदैमा के हुन्छ र क्षेती
केटी थेगो– देउरालीलाई भेटी, आजकालका केटाको भर लाग्दैन त्यति
यी माथिका सवाल जवाफ हरफ रेकर्डिङ गर्न लागेको नयाँ गीतका लागि लेखिएका शब्दका हरफ होईनन् । नत कुनै मेला वा महोत्सवमा गाउनको लागि तयार गरिएको हो । अझ यी शब्द बयस्कले होईन कलिला बालबालिकाहरुले गाएको गीतका शब्द हुन् । यो गीतमा जवान उमेरमा गरिने माया पिरती मात्र होइन, बालिकाको रुपले बालकको नियत बिगारेको अवस्थाको समेत चर्चा गरिएको छ ।
यो गीतलाई पछिल्लो समय युट्युवले भाइरल बनाएका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाले गाएका छन् । यो गीतलाई उनीहरुले दोहोरीको स्टेजमा गाएका छन् । त्यहाँ डमी बाध्यवादक राखिएको भएता पनि हेर्ने दर्शक भने छैनन् । शरद पाण्डेको शब्द र विक्रम परियारको संगीत रहेको पुरा गीतमा एउटा युवाले युवतीलाई मोह जालमा पार्न सफल भएको निश्कर्ष निकालिएको छ ।
केटी– तिमीलाई पनि बोलाउँछु हर्षमा, विहे हुँदैछ अब आठ वर्षमा
केटा– तिमीलाई सम्झी म कति रुम्ला, त्यो बिहेमा बेहुला त मैं हुम्ला
केटी– छाको होला त्यो मनमा हर्ष, पर्खिनलाई सक्छौ त आठ वर्ष
केटा– मरिजाने दुइ दिने चोला, यही बैशाखमा बिहे गर्दा के होला
सिधै विवाहको प्रसंगमा गाइएको यो गीत पनि विवाहको लागि योग्य उमेरका युवायुवतीले गाएको होइन । यसअघि नै चर्चामा आएको यो गीत बालिका कमला घिमिरे र प्रिन्स लम्सालले गाएका हुन् । इनेपाल खबर नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको यस भिडियोको शिर्षक प्रिन्ससँग बिहे गर्दै कमला राखिएको छ ।
यो भिडियो बनाउँने समयमा प्रिन्सकी आमा शिल्पा र कमलाकी आमा देवकी समेत साथमा छन् । आमाहरुले नै आफ्नो छोरा र छोरीलाई माया प्रेमको शब्दमा हौस्याएका छन् ।
प्रिन्स लम्सालकै नामबाट खोलिएको युट्युव च्यानलमा पनि दोहोरी कार्यक्रम अपलोड गर्न थालिएको छ । यसको मतलव पढ्नु पर्ने उमेरका प्रिन्सलाई उनका अभिभावकले व्यवसायिक रुपमा दोहोरीको भिडियो निर्माण गर्ने काममा प्रयोग गर्न थालेका छन् । प्रिन्सको नाममा खुलेको च्यानलमा उनै कमलासँग प्रिन्सले गाएको भिडियोमा केही शब्द यस्ता छन् ।
कमला– जाँदिन म भागेर, लेर जाउ हात मागेर
प्रिन्स– उनले घर सार्छन् कि, तिम्रा बाउले मार्छन् कि
कमला– मरेपछि खरानी, तिमी राजा म रानी
प्रिन्स– सानो तिम्रो काखैले, इशारा देउ आँखैले
कमला– बोलाउनेछु म मामा, लेर आउनु बाउ आमा
प्रिन्स– गरिराछन् काम, बिदेशमा छन् बाउआमा
यस्ता शब्द समेटिएको यो भिडियोको शिर्षक प्रिन्स र कमलाको माया मौलायो भनेर राखिएको छ ।
यी माथिका त उदाहरण मात्र हुन् । पछिल्लो समय युट्युबका भिडियोहरुमा बालबालिकाको दुरुपयोग अत्याधिक बढिरहेको छ । सस्ता, भद्धा अनि दुइ अर्थी शब्दहरु समेटेर त्यस्ता युट्युब सञ्चालकले शब्द लेख्ने अथवा छेउमा बसेर सिकाउने अनि बालबालिकाले गाउने र अरु वरिपरि बसेर उरन्ठे हाँसो हाँसेर बनाएका भिडियोहरु आजकाल बग्रेल्ती देखिन्छन् ।
त्यसो त सारंगी संसार नामक युट्युव च्यानलमा भएको एक भिडियोमा रियालाई प्रिन्स मन परेपछि नामको शिर्षक राखिएको छ । जबकि प्रिन्ससँग माया प्रेमको दोहोरी गीत गाउने गायिका रिया खड्का बयस्क युवती हुन् । रियाको विवाह नै गर्ने उमेर पुगिसकेको वा माया प्रेम र शारीरिक सुन्दरता र आकर्षणको कुरा गर्ने उमेर पुगेको भएता पनि प्रिन्सको दिमाग काँचो माटोको अवस्थामा छ । उनको दिमागलाई यतिबेला जे कुरामा प्रयोग गर्न सक्यो त्यही बन्न सक्छ ।
गीतको भिडियोमा बाल मस्तिकको अर्को दुरुपयोगको उदाहरणकै रुपमा लिने हो भने जुनकिरी लाइभ स्टुडियो नामक युट्युवमा भएको मुसी–कलौटे परिवारको जोडी परेवामा पहिलो लाईभ दोहोरी हाँसै थाम्न गारो शिर्षकको भिडियो पनि एक हो । त्यसमा मिलन गन्धर्वलाई गाउन लगाइएको शब्द समाजले पत्याउन नसक्ने मात्र होइन । अत्यन्त खेदजनक छ । उनले उत्तेजक बनेर गाएको काले होइन म जस्तो गोरो भाइ, आज मेरी स्वास्नीले छोरो पाइ लाई दोहोरीको औपचारिक सुरुवात हुनुभन्दा अगाडि नै हाइलाइटमा राखिएको छ । मिलनले यो गीत गाउँदा अरु भने मच्चिएर हाँसेका छन् । उनी जस्तो बाल गायकलाई त्यस्तो शब्दमा गीत गाउन लगाउँदा अरु बालबालिकाहरुले के सिक्लान ?
त्यसै गरी इन्द्रेणी डटकम नामक च्यानलका युट्युवबरले बनाएको भिडियोमा बालकलाकारमै उत्कृस्ट दोहोरी गाउने रबिना बसेल लाई आछु आछु पारे दाङबाट आएका राजकुमार बि.क.ले शिर्षक राखिएको छ । जसमा बालगायक बि.क.ले रबिनालाई दोहोरीमा हारेमा आफ्नो गृहजिल्ला दाङ लग्ने प्रसंगबाट माया प्रेमको सुरुवात गरेका छन् । त्यस कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले त्यस्ता शब्दहरु रोक्न सक्थे तर झन् हौस्याएका छन् । तर यसरी गाइएको दोहोरीका सबै शब्द बालबालिकाले बनाएका हुँदैनन् ।
यस्तै अर्को उदाहरण दिने हो भने सारंगी संसार नामक युट्युब च्यानलमै रहेको कलौटे र मुसी सारंगी संसारमा आउँदा उधुमै रमाईंलो साथमा रियाको दोहोरी शिर्षकको भिडियोमा त झन् दोहोरी होइन फोहोरी शब्दको प्रयोग गरिएको छ । त्यस भिडियोमा बाल गायक विराज गन्धर्वले बयस्क गायिका रियासँग छाडा शब्दमा गीत गाएका छन् ।
र्यापरका रुपमा चर्चा र विवादमा आइरहने समिर घिसिङ उर्फ भिटेनको आपत्तिजनक शब्द रहेको र्याप त्यसमा विराजले गाएका छन् अनि रियाले उनलाई हौस्याएकी छिन् सँगै गाएर ।
माथि उल्लेख गरिएका भिडियो र प्रयोग गरिएका बालबालिका त छोटो उदाहरण मात्रै हुन् । त्यस्ता सुन्न नसकिने भिडियोहरु यति बनाइएको छ कि गन्न थाल्यो भने दिनरातले पनि पुग्दैन । यसरी बालबालिकालाई उत्तेजक बनाएर भिडियो निर्माण गर्दा आम्दानी त मनग्य हुने नै भयो तर यस्ता भिडियोहरुले समाजलाई कता लाँदैछ ? यसबारेमा भिडियो निर्माण गर्ने व्यक्तिहरुले सोच लगाउँन सकेको देखिदैन ।
थोरै खर्चमा ठाउँको ठाउँ गाउन सकिने भएकोले गर्दा पनि धेरैले अहिले थरी थरीका नाममा युुट्युव च्यानलहरुको स्थापना गरेर दोहोरीका नाममा फोहोरी भिडियोहरु बनाइरहेका छन् । यसरी बनाइएका भिडियोहरुमा यौनसँग जोडिएका दोहोरी अर्थ लाग्ने शब्दहरु बढी प्रयोग भएको पाइन्छ । अनि त्यस्ता शब्दमा समेत बालबालिकाहरु प्रयोग भएका छन् ।
नयाँ र मौलिक गीतका भिडियोहरुलाई समेत पछाडी पार्ने गरी यस्तो दोहोरीको भिडियो बनाउने खहरेका रुपमा कृष्ण कडेल सुरुवाती चरणमा यस क्षेत्रमा आएका हुन् । कुनै पनि बालबालिकाहरुको केही प्रतिभा देखेमा उनी आफ्नो कार्यक्रममा ल्याइ हाल्छन् । अनि सकेसम्म उसको लागि जोडीको खोजी गर्छन् । नत्र बयस्कसँग नै गाउन लगाउछन् । दोहोरीको नाममा कडेलले बालबालिकाहरुका लागि अफिमकै खेती गरेका छन् भन्दा फरक पर्दैन । पछि त्यही लहडमा अरुले पनि बालबालिकाको चरम दुरुपयोग गरिरहेका छन् ।
बालबालिकाहरुको सिक्ने उमेरमा यस्ता शब्द र लहडमा होम्याउँदा समाजमा अपराध झन् मौलाउने बताउँछन् मनोविद् गोपाल ढकाल । प्रतिभावान बालबालिकालाई उनीहरुको उमेर र सिकाइमा आधारित कुरामाहरुमा रहेर गाउन लगाउँदा ठिक हुने भनाई मनोविद ढकालको रहेको छ ।
सानैदेखि बालबालिकाहरुलाई यौवन र शरिरसँग सम्बन्धित कुराहरुसँग जोड्दा बाल मनोविज्ञान यौनमा एकोहोरिने र त्यसले बलात्कार लगायतका यौन हिंसा निम्त्याउने समेत ढकाल बताउँछन् । ‘बालबालिकाहरुमा नयाँ–नयाँ कुराहरुको खोजी गर्ने र त्यसमा आफ्नो जीवनमा प्रयोगमा ल्याउने सोच हुन्छ । त्यो बेलामा विकास भएको मनोविज्ञान जीवन परन्त रहन सक्छ । सकारात्मक मनोविज्ञानको विकास गर्न सकिएन भने उनीहरु नकारात्मक बन्छन् र अपराध कर्ममा लाग्न सक्छन् ।’ स्तम्भकारसँगको कुराकानीमा ढकालले भने ।
यस्तो कुराहरुमा समाज सचेत बन्नु पर्ने समेत ढकाल बताउँछन् । समाजका हरेक अभिभावक सचेत भएर बालबालिकालाई दुरुपयोग हुनबाट जोगाउनु पर्ने भनाइ उनले राखे ।
बालबालिकाहरुलाई कुनै पनि कुरामा दुरुपयोग गर्नु कानूनी रुपमा दण्डनीय हुने बताउँछन् अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल । अधिवक्ता पौडेलका अनुसार बालबालिकाहरुलाई उमेर नसुहाउँदो जुनसुकै काममा लगाए पनि त्यो कानून विपरीत हो । त्यस्ता प्रकरणहरुमा नेपालको संबिधानको धारा ३९ ले व्यवस्था गरेका उपधारा बमोजिमको सजाय हुने पौडेलले बताए ।
नेपालको संविधान २०७२ को धारा ३९ मा यस्तो व्यवस्था गरिएको छ ।
(१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।
(२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरजन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ ।
(३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा चाल सहभागिताको हक हुनेछ ।
(४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।
(५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख पाइने छैन ।
(६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा मनो वा प्रयोगा गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन । कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकैस्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
(८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
(९) असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
लोकदोहोरीमा पाइरेसीको कैयौं मुद्धा व्यहोरेका कृष्ण कडेलले हुन त आफ्नो गल्ती स्वीकार्दैनन् । उनी पाइरेसीको अधिकार माग्ने सर्जकसँग समेत रिसाउँछन् । पुराना श्रोताहरुले बिर्सिन लागेका गीतहरुलाई दोहोरीका रुपमा व्युँताएर आफूले उद्धार गरेको उनको तर्क हुने गर्छ भने दोहोरीमा बालबालिकाको प्रयोगलाई पनि उद्धारकै रुपमा नलेलान् भन्न सकिन्न । देश बिदेशमा चर्चा पाएका छन्, पैसा कमाएका छन् भन्ने उनको तर्क होला । भाइरलहरुको चर्चाको कुरा गर्ने हो भने अहिले कहाँ छन् प्रेम परियार अनि कति कमाउँदैछन् सचिन परियार ?
कँडेलकैै सिको गरेर उनका चेला चपेटाहरुले गर्ने गरेका बालबालिकाको दुरुपयोगका हर्कतहरुलाईनरोक्ने हो भने बिग्रदै गरेको बाल मनोविज्ञानमा झन् मलजल हुनेछ ।