काठमाडौं । काठमाडौं महनागरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । ‘हामी महानगरवासी सबै एकै परिवार हौैं ।
हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु,’साहले भने ।
स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।