Thursday, March 23
Shadow

एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाउनुभएकाे छ ।

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको बताउनुभयाे ।

‘पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व थियो । केन्द्र, प्रदेश र पालिका सरकारमा एमालेले नेतृत्व गर्‍याे । लामो समयपछि भएको पालिका चुनाव र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए ।

तर तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो । केपी ओलीले दुई पटकसम्म संसद् विघटन गर्नुभयो । संविधानमाथि नै प्रहार गर्नुभयो । नागरिकका अधिकार खुम्च्याउने प्रयास भयो । जसका कारण जनताको राजनीतिक दलप्रतिको धारणा नै गलत बन्दै गएको छ’, उहाँले भन्नुभयाे ।

महामन्त्री थापाले एमालेको निरङ्कुशताको सजाय जनताले पालिका चुनावमा उनीहरूलाई दिइसकेको बताउनुभयाे । ‘केही पालिकामा बाहेक केन्द्र, प्रदेश र पालिकामा अब एमालेको सरकार छैन ।

उनीहरूले सजाय पाइसके । अब आ–आफ्नो ठाउँबाट जनहितका जिम्मेवारी पूरा गर्ने अवसर हामीले पाएका छौँ । अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावनाअनुसार काम गर्ने हो’, उहाँले भन्नुभयाे ।

महामन्त्री थापाले उम्मेदवार दोहोर्‍याउने र मतदाताको मनोभावना विपरीतको उम्मेदवार पार्टीले अघि सार्दा नसोचेको ठाउँमा पराजय बेहाेर्नुपरेकाे बताउनुभयाे । ‘चाहे जुनसुकै राजनीतिक दलको होस्, अपवादबाहेक दोहोरिएका उम्मेदवार पराजित भएका छन् ।

जनताले आक्रोश व्यक्त गरेका छन्’, उहाँले भन्नुभयाे ।महामन्त्री थापाले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावनाअनुसारकाे काम गर्नुपर्ने सुझाव दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *