Tuesday, November 29
Shadow

बिप्लवलाई खुला पत्र !

नेपाली जनताको उज्जल सपना पूरा गर्ने उद्देश्य साथ जनयुद्धमा होमिएको नेपाली युवाहरु को मुल सपना थियो- मृत्यु वा मुक्ति । एकातिर राजतन्त्रात्मक छायाँ भित्र विकास हुँदै गरेको संसदीय परिपाटी तोडेर समाजवादी गणतन्त्रात्मक व्यवस्थाका लागि लडेका युवाहरुको मन बैसठ्ठी त्रिसट्ठी पछि संसदीय व्यवस्था मार्फत गोबरको भकारोमा पछारिन पुग्यो । जनयुद्ध कालदेखि समावेश हुँदै आएका हामीहरु सपना मार्न नसकेर वैध हुँदै तपाईंको नेतृत्वसम्म आईपुगेको बिगत यथार्थ हो ।

तपाईंको नेतृत्वमा पार्टी आइसकेपछि पनि झण्डै सात वर्षभन्दा बढी गुज्रिसकेको छ । विगतको समयलाई नियाल्दा जनयुद्धको अवसानपछि क्रान्तिकारीहरुको जाग्दै गरेको तपाईँप्रतिको आशा समेत निमोठीन पुगेको छ ।

पार्टी विभाजनको दौरान हाराहारीको संख्यामा रहेका पोलिटब्युरो केन्द्रीय सदस्य लगायतका सदस्य विच्छेद या विभाजित वा पुरानै शक्तिमा टाँसिन पुगेका छन् । अब यो संख्या औंलामा गन्न सकिने अवस्थामा पुगेको छ ।

पहिलो स्थानीय निर्वाचनमा मजबुत संगठन रहेको पार्टी प्रतिबन्धपछि छिन्नभिन्न हुन पुग्यो र बीउ जगाउने अवस्थामा पुग्यो । राज्यले ठूलो बल प्रयोग नगरिकनै त्यस्तो अवस्थामा पुर्यायो । पहिलो स्थानीय निर्वाचनमा बुता भन्दा बढी बल प्रयोग गरेको पार्टी दोस्रो स्थानीय निर्वाचन सम्म आइपुग्दार्दा पुतली चिन्न लिएर उभिनु पर्ने बाध्यता बन्यो ।

रक्षा सन्तुलन र आक्रमणको विज्ञानभन्दा पनि सनकमा गरेको बल प्रयोगको कारण यो अवस्था पैदा भयो । जसले संगठनलाई जोगाउने होइन छिन्नभिन्न पार्ने काम भयो ।

पार्टी भित्रका अवसरवादीहरु नेतृत्वको चाकडी मार्फत सुरक्षित रहने हुँदा धेरै कार्यकर्ताहरुले कामभन्दा पनि चाकरी मा विश्वास गर्न सुरु गरे । जनताप्रति उत्तरदायी हुने भन्दा पनि नेताकाे चित्त बुझाउने काम मै बढी ध्यान दिए ।

इमान्दार क्षमतावान कार्यकर्ता भन्दापनी पश्चिम् भुगोल र आफन्त र नजिककाबाहेकलाई पाखा लगाउने योजना राम्रैसङ देखियो । आर्थिक चन्दालाई नै राजनितिको मुल उपलब्धी मान्ने चलन संस्थागत बन्न पुग्यो ।

पार्टी भित्र उब्जिएका असन्तुष्टिलाई समाधान गर्ने भन्दा पनि आफू अनुकुल बहुमत जोड्ने , आर्थिक निषेध र विशेष कमिटीमा थन्क्याउने प्रवृत्ति हुदै गयो ।

एकीकृत जनक्रान्ति मार्फत बुद्धिजीवी , प्राध्यापक , शिक्षक ,कलाकार , लेखक , वकिललाई संगठित गर्ने भनिएतापनि व्यवहारिक अर्थमा यी सधै टाढा नै रहे । रोल्पा बाहेककाले नै नेतृत्व गर्न सक्दैनन् भन्ने रोल्पा कनेक्टिङ साइक्लोजी बन्न पुग्यो ।

आफू वरिपरिका बाहेकका विश्वसनीय हुँदैनन् भन्ने मा बढी सुरक्षा महसुश गरियो । तपाईंले रोल्पा र थवाङलाई यनान होइन “मक्कामदिना “बनाइदिनुभयो ।यतिबेला शिवगढी लाई ” धाम “बनाउने योजनामा हुनुहुन्छ । त्यही अनुसारको भक्तजन तयार पार्दै हुनुन्छ । योसँग विमति राख्नेहरु तपाईंको दरबारमा अट्ने छैनन ।

शक्तिशाली राज्यभित्र हुर्कदै गरेको क्रान्ति सम्भावनालाई रक्षा गरेर व्यवस्थासँग कसरी जुध्ने कुराको वैज्ञानिक ठम्याई नगरी गोरु जुधाइ र पुरानो मेलाबजारमा लडिने शैलीभन्दा नयाँ योजना सैन्य रणनीतिमा पनि जन्मिन सकेन ।

प्रशिक्षणमा दर्शन , संगठन, संस्कृति र विज्ञान-प्रविधि समन्धी क्लास संचालन गरे तापनि दर्शनको बोक्रामै अल्झिनु ,त्यो हैसियतमा छलफल हुन नसक्नु र भ्रम पार्ने किसिमको संगठन बन्नु , भौतिकवादका पण्डितहरू क्रियाकर्म र पुजाआजामा प्रकट हुनु , विज्ञान र प्रविधिका प्रशिक्षकहरु सुरक्षित मोबाइलसमेत चलाउन नसक्नु र पटक पटक गिरफ्तार हुनु , बदलिँदो दुनियाको परिवेश सङग तालिमहीन सेनाहरू स्वयम् धरापमा परे ।

प्रविधिकाे उचित ज्ञानबिना पठाइएका सेना आफ्नै बमबाट क्षत बिक्षत बन्न विवश भए । तपाईले यसको निर्मम समीक्षा गर्नुभयो । कागजी समीक्षा मात्र होइन व्यावहारिक समीक्षा गरेर बौद्धिक तप्कालाई नेतृत्वमै एकाकार बनाउने आट कहिल्यै गर्नुभएन ।

इमानदार र सक्षम व्यक्ति चयन , व्यवहारवादी जीबनशै नेतृत्व दाङ भेलाबाटै गरेको भए त्यो नेतृत्वले उचित दिशानिर्देश गर्न सक्थ्यो। तबमात्र जनताले विश्वास गर्थे त्यसको आधार सँगठन निर्माण हुन्थ्यो । जसले कान्तिलाई एक चरणमा माथि लैजान सम्भव हुन्थ्यो ।

बरु गुट उपगुटले विभिन्न जनवर्गीय तथा संगठन मोर्चालाई छिन्नभिन्न पार्न पुग्यो । पत्रकार विद्यार्थी मजदुर समस्याहरु त्यस्तै अराजकताका उपज बने । नेतृत्वले भने यसको हल सही ढंगले गर्न सकेन ।

केहि अवसरवादीहरु लाई तह लगाउने बहानामा इमान्दारहरुलाई समेत बहिर्गमित गराउने कार्य भयो । पत्रकार र विद्यार्थीहरूको विवादपछि समाधानका लागि लिएका निर्णयहरू अवसरवादी बराबरनै इमान्दार कार्यकर्ताहरुलाई हुनपुग्यो । प्रभात चलाउने देखी प्रकाश डुम्रे सम्मका प्रकरणहरुमा समस्याको हल भएन मात्र पात्र खेलाउनु भयो ।

विगतका यी समीक्षाहरुलाई थाती राखेर तपाई त्यतिबेला शिवगढी महाधिवेशनमा हुनुहुन्छ । १२ वर्ष भन्दा बढी विश्वविद्यालयको प्राध्यापनमा बिताएको म तपाईंको क्रान्तिकारी निरंतरताबाट प्रभावित बने ।

सारा पेशा र घरपरिवारलाई नै छोडेर म भुमिगत बनेको थिएँ । रहर ले होइन , केवल सपनाहरु मर्न नदिन । दुश्मनका घेराहरु तोड्दै हातेमालो गर्दै तपाईंलाई नै आदर्श मानेर लामो समयसम्म नेतृत्व पनि गरेको थिएँ ।

राजनीतिक जिबनमा दर्शन र विचार वा कार्यदिशा नै सबैभन्दा महत्वपूर्ण हुदोरहेछ । विगतमा यहि पार्टीमा रही मृत्युसँग जिन्दगीको खेल खेलेको सम्झन्छु । कतिबेला दुःखी पनि हुन्छु ।

मेरा अनुत्तरित प्रस्नहरु को जवाफ नभेटेपछि म यतिबेला दुखित अवस्थाबाट नै आज तपाईंलाई यो पत्र लेखिरहेको छु । म मेरै पसिनाबाट निर्माण गरेको पार्टीको महाधिवेशनमा आज उपस्थिति जनाईरहेको छैन ।

दृष्टिकोण र कार्यदिशामा चुकेपछि राजनीतिमा सम्बन्ध तोड्नु नै उचित हुदोरहेछ । म जस्ता क्रान्तिको सपनाका निम्ति जीवन फालेका कैयौं जिन्दगीहरुले विगत र वर्तमानमा भोगेको कुरा यहि नै हो । हामी समाजवादी बाटोबाट विमुख हुन यो गरिरहेका छैनौं बरु समाजवादी बाटोमा लम्किन यसो भनिरहेका छौ ।

विगतका समीक्षालाई थाती राखेर तपाई त्यतिबेला शिवगढीमा बाह्रौँ महाधिवेशन गर्दैहुनुहुन्छ यो महाधिवेशनमा यी कुरा तपाईंलाई सोध्ने आँट भएका मान्छेहरु सायद कमै होलान् ।

आठ वर्ष भित्रको हाम्रो राजनीतिक उपलब्धि के ? आठ वर्ष भोकै प्यासै जेल हिरासत घरबारविहीन भएका कार्यकर्ताहरु को जवाफ के ? अझै सहिद तथा घाइतेको ? विभिन्न समयमा अभियान मार्फत निर्मित संगठन किन संरक्षित हुन सकेन ?

जसको मूल कारण हो विगतको महाधिवेशनले सही नीति र नेतृत्व छान्न नसक्नु । विरासत भजेर केन्द्रमा थुप्रिने मानिसको थुप्रोले कहिल्यै क्रान्ति गर्न सक्दैन । दुश्मनको हवल्दार जतिकै फौजी ज्ञान नहुने कमाण्डरले मोर्चा जित्दैन ।

केन्द्रीय कमिटीका मान्छेहरुले मासिकीमा रमाइरहेको बेला जिल्ला पार्टी सञ्चालन गर्न ऋण खोज्दै हिड्न विवश कमरेडहरुहरु यो कारणबाट उत्साहित हुँदैनन । तपाइले कार्यकर्ता परिचालन गर्नुभएन । खेलाउनुभयो ।

यी सबै फोहरले पार्टीलाई कमजोर बनाउँदै लग्यो । भूमिगत पार्टीमा नेतृत्वको कमजोरी धेरै पछि मात्र थाहा हुन्छ । हामीले जीवन-मरणको प्रतिबन्ध भोगिरहेको बेला यतातिर सोच्न पनि भ्याएनौ ।

अकस्मात तीन बुदे सहमतिको श्रृंखला पुतलीसम्म आउँदा जति विकृत रूपमा देखियो त्यसले पार्टी भित्रका क्रान्तिकारीहरुलाई मात्र होइन आशा गरेका नेपालीहरुले समेत मन दुखाए । निराशित बने । पार्टी बिभाजनको मुल कारण पनि यहि बन्यो ।

कमरेड ! पुतली चिन्ह बोक्नु दुई कारणले बाध्य भएको हुनसक्छ । पहिलो जनताले केजरीवाललाई जस्तै यसपटक आफूलाईपनी जिताउनेछन् । दोस्रो चुनावमा भाग नलिए सत्ताले फेरि गिरफ्तार दमन गर्नेछ ।

यी दुवै कुरा तपाईंको मनोविज्ञानमा नाचे होलान । तर यी दुवैको कुरा सत्य थिएनन । तपाई त्यहि चुक्नुभयो जुन कुरामा शासकहरु चुकाउन चाहन्थे । लुकेका साना पाटा हजारौं होलान ।

तर कन्चनहरुलाई पार्टी विभाजनका लागि उद्द्वेलनमा ल्याउने पहिलो कारण चुनाव नै हो । यो प्रस्तावना अरु कसैको मुखबाट होइन तपाईबाट नै हुन पुग्यो । यो दुर्भाग्यको इतिहास हो ।

बिगतमा व्यक्तिगत रुपमा पनि मैले पटक-पटक तपाईंलाई यसबारे अवगत गराएँ । तपाईले सुन्नु यत्ती मन गर्नुभएन । बरु बाहनाबाट धेरै पर उम्कन चाहनुभयो ।

यतिबेला चलिरहेको यो महाधिवेशन पनि विगतको समीक्षा बेगर उभिएको जमात बजार भन्दा फरक हुँदैन भन्ने तर्क मेरो हो । फरक फरक तर्कभन्दा पर रहेर मन मिल्नेहरुको मात्र जमघट र सगोत्रीहरुबाट गाइने आरतीले त्यो महाधिवेशन हुदैन !

कुलपुजा बन्नेगर्दछ । त्यसरी त कुलपुजा गरिन्छ । मेरो सुभकामना त यो छ कि यो कुलपुजा नबनोस । इतिहासमा पटक पटक लडेपनी उठेर सफल भएका इतिहास थुप्रै छन तर इतिहासमा चुकेकाहरुले क्रान्तिको नेतृत्व गरेको बिरासत भने कहि कतै छैन ।
फेरिपनी सुभेक्षा सहित
डा. शिवशंकर बस्याल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *